प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व सप्तमी - ७

परिचय

"ग्रामीण महिलाका लागि उत्पादन ऋण व्यवस्था कार्यक्रम" को रूपमा आ.व. २०३९/०४० मा शुरु भएको महिला विकास अभियान कार्यक्रमहरूबाट प्राप्त उपलब्धि, अनुभव र समसामयिक आवश्यकताका आधारमा २०५२ असोज ६ गते " महिला तथा समाज कल्याण मन्त्रालय" को स्थापना भयो । महिला तथा समाजका विभिन्न वर्गको सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तीकरण गर्दै दिगो शान्ति एवं विकासमा उनीहरूको भूमिकालाई सशक्त बनाउने कार्यमा संलग्न महिला तथा समाज कल्याण मन्त्रालयको नाम बालबालिकालाई अझ उच्च प्राथमिकता दिने हेतुले २०५७ मा मन्त्रालयको नाम परिवर्तन गरी "महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय" नामाकरण गरियो । २०७५ सालबाट यस मन्त्रालयको नाम महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय रहेको छ।

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यक्षेत्र भित्र महिला, बालबालिका तथा समाज कल्याण सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकनको साथै अध्ययन, अनुसन्धान तथा सर्वेक्षणका विषयहरु तोकिएका छन्। यसै गरी अनाथ बालबालिका, असहाय महिला, वृधवृद्धा, अपाङ्ग रअशक्तको संरक्षण, बालबालिकाको कल्याण, ज्येष्ठ नागरिकको सुरक्षा र कल्याण, महिला कल्याण तथा सीप विकास पनि यस मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दछन् । यस मन्त्रालयको दायरा भित्र राष्ट्रिय महिला आयोग, समाज कल्याण परिषद्, समाज कल्याण केन्द्र वृद्धाश्रम र बाल मन्दिरका विषयहरु पनि पर्दछन्।

महिला, बालबालिका तथा समाज कल्याण सम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघ र संस्थासंग सम्पर्क र समन्वय तथा परिचालन र सरकारी तथा गैर सरकारी संघ र संस्थाद्वारा कार्यान्वयन गरिएका महिला, बालबालिका तथा समाज कल्याण सम्बन्धी कार्यक्रमको अनुगमन गर्ने लगायत धर्मपुत्र र धर्मपुत्री, लैंगिक हिंसा सम्बन्धी विषयहरु पनि नेपाल सरकार -कार्य विभाजन) नियमावली, २०७४ अनुसार यस मन्त्रालयको कार्यक्षेत्र भित्र पर्न आउँदछ।

यसरी विभिन्न नीति, ऐन, नियम -कानूनहरु, दीर्घकालीन तथा आवधिक योजनाहरु, नेपाल पक्ष भएका क्षेत्रीय एवं अन्तर्राष्ट्रिय महासन्धि तथा इच्छाधिन आलेखहरु, नेपाल पक्ष भएका विभिन्न अन्तर्राष्ट्रिय सभा-सम्मेलनहरु यस मन्त्रालयका कार्यादेशका आधारहरु हुन । यस बमोजिम मन्त्रालयले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र तेश्रो लिङ्गी समेतको लागि समय सापेक्ष नीति निर्माण, समन्वय र सहकार्य तथा कार्यक्रम संचालन-मूलतः सचेतना अभिबृद्धि र सशक्तिकरण गर्ने कार्य गर्दछ।

समग्रतामा मूलप्रवाहीकरण, सशक्तिकरण र समावेशीकरण जस्ता रणनीतिको आधारमा समतामय सम्पन्न समुदाय निर्माण गर्न विभिन्न विपन्न वर्गका लागि समयको प्रवाहसंगै सार्थक पहल गर्ने उद्देश्यपूर्तिका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय स्थापना भएको हो।