प्रेस विज्ञप्ति

 

प्रेस विज्ञप्ति

आज मिति २०८३ जेठ ३ गते (तदनुसार १७ मे २०२६) International Day Against Homophobia, Transphobia, and Biphobia (IDAHOBIT) अर्थात लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय विरुद्ध हुने घृणा तथा विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय सम्पूर्ण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायप्रति सम्मान व्यक्त गर्दै मानवअधिकार, समानता, समावेशिता तथा सामाजिक न्यायप्रतिको प्रतिबद्धता व्यक्त गर्दछ।

नेपालको संविधानले सबै नागरिक कानूनको दृष्टिमा समान हुने र कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित नगरिने कुरालाई सुनिश्चित गरेको छ। संविधानद्वारा प्रत्याभूत मौलिक हक तथा अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी कानून अनुरूप लैङ्गिक पहिचान तथा यौनिक अभिमुखताका आधारमा हुने कुनै पनि प्रकारका विभेद, बहिष्करण, हिंसा वा घृणाजन्य व्यवहार अस्वीकार्य रहेको एवं यस्ता किसिमका व्यवहार कानून बमोजिम दण्डनीय रहेको मन्त्रालय स्पष्ट गर्दछ

आजको यस International Day Against Homophobia, Transphobia, and Biphobia (IDAHOBIT) ले पारस्परिक सम्मान, सहिष्णुता, विविधताको सम्मान तथा सामाजिक सद्भाव अभिवृद्धि गर्दै सबै नागरिकको समान सहभागिता सुनिश्चित गर्ने दिशामा तीनै तहका सरकार, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाबीच थप सहकार्य र प्रतिबद्धताको आवश्यकता औँल्याएको छ। मन्त्रालय लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अधिकार संरक्षण, सुरक्षित तथा सम्मानजनक वातावरण निर्माण, न्याय तथा सार्वजनिक सेवामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले आवश्यक नीति, कार्यक्रम तथा संस्थागत प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ। साथै, सम्पूर्ण नागरिक तथा सरोकारवालाहरूलाई विभेद, घृणा र हिंसाविरुद्ध सचेत एवं संवेदनशील रहँदै समावेशी तथा समतामूलक समाज निर्माणमा सक्रिय योगदान पुर्‍याउन मन्त्रालय हार्दिक आह्वान गर्दछ।

जेठ ३, २०८३

नेपाल सम्वत् ११४६   

                                                                ­ (मिलन भट्टराई)                 

                                                             उपसचिव/सहायक प्रवक्ता