विश्व बालश्रम विरुद्धको दिवसका अवसरमा माननीय मन्त्री सिता बादीज्यूको शुभकामना सन्देश।
शुभकामना
बालबालिका राष्ट्रका सुदूर भविष्य हुन्। प्रत्येक बालबालिकाले सर्वाङ्गिण व्यक्तित्व विकासका लागि सुरक्षित र अवसरयुक्त वातावरणमा हुर्कने र आफ्नो क्षमता विकास गर्ने अधिकार राख्छन्। नेपालको संविधानले बालबालिकाको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरी बालबालिकाको उच्चतम हितको व्यवस्था गरेको छ। बालबालिकाको विशिष्टिकृत कानूनका रूपमा बालबालिका सम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा रहेको छ। बालबालिकाको हक, हित र अधिकार सुनिश्चितताका लागि बालबालिकासँग प्रत्यक्ष सरोकार भएका शिक्षा, स्वास्थ्य, बालसंरक्षण लगायतका विषयमा संघ, प्रदेश र स्थानीय तहबाट महत्वपूर्ण भूमिका निर्वाह हुदै आएको छ। साथै, नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धि, अन्तर्राष्ट्रिय श्रम संगठनका बालश्रम सम्बन्धी प्रावधानहरू तथा अन्य अन्तराष्ट्रिय रूपमा व्यक्त गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्दै बालश्रम उन्मूलनका लागि नीतिगत, कानुनी, र संस्थागत व्यवस्था गरेको छ। यद्यपि अझैपनि विशेषगरी आर्थिक-सामाजिक रूपमा पीछडिएका, सिमान्तकृत तथा अति सिमान्तकृत समुदायका बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको र आर्थिक शोषणमा परिरहेको अवस्था छ। यस परिप्रेक्षमा बाल श्रम उन्मुलनका लागि संघ, प्रदेश, स्थानीय तह, बालबालिकाका क्षेत्रमा क्रियाशील गैरसरकारी संघ/संस्था, नागरिक समाज तथा अभिभावकले बालबालिकाको उच्चतम हितलाई केन्द्रमा राखी आ-आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक छ।
विश्व बालश्रम विरूद्धको दिवसका अवसरमा बालश्रममुक्त समाज निर्माणको साझा अभियान सफल बनाउन बालअधिकार संरक्षण र बालश्रम उन्मूलनका लागि थप प्रतिबद्ध र जिम्मेवार भई कार्य गर्न सरोकारवाला सबैमा प्रेरणा प्रदान गरोस् भन्ने सुभेच्छा व्यक्त गर्दछु।
धन्यवाद।
२०८३/०२/२९ (सिता बादी)
मन्त्री