प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
आज मिति २०८३ जेठ २५ गते माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र संयुक्त राष्ट्र संघका आवासीय संयोजक H.E. Ms. Lila Pieters Yahia बीच मन्त्रालयमा शिष्टाचार भेट भयो। उक्त भेटमा माननीय मन्त्री बादीले नेपालको सामाजिक सुरक्षा तथा संरक्षण प्रणाली, सामाजिक सुरक्षा कोष, बाल संरक्षण संयन्त्र तथा संस्थागत समन्वयलाई थप प्रभावकारी बनाउन मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य तथा विकास साझेदारहरूसँगको समन्वय मार्फत सामाजिक क्षेत्रको विकासलाई अझ परिणाममुखी र नागरिकमैत्री बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।
भेटका अवसरमा संयुक्त राष्ट्र संघका आवासीय संयोजक H.E. Ms. Lila Peters Yahia ले महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, बाल अधिकार, श्रम तथा सामाजिक सुरक्षा, मर्यादित जीवन तथा सीमान्तकृत समुदायको अधिकार प्रवर्द्धनका क्षेत्रमा संयुक्त राष्ट्र संघले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले सामाजिक सुरक्षा, एकीकृत सामाजिक संरक्षण प्रणाली तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताउनुभयो।
उक्त भेटमा संयुक्त राष्ट्र संघका आवासीय संयोजक H.E. Ms. Lila Peters Yahia, नेपालस्थित UN Women का Country Representative Ms. Patricia Fernandez-Pacheco, संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठनका नेपालस्थित प्रतिनिधि Mr. Ken Shimizu र अन्तराष्ट्रिय श्रम संगठनको नेपालका लागि Country Director Mr. Numan Özcan सहभागी हुनुहुन्थ्यो। उक्त भेटले नेपाल सरकार र संयुक्त राष्ट्र संघबीच सामाजिक न्याय, समानता, समावेशी विकास, मानव अधिकार तथा दिगो विकासका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
जेठ २५, २०८३
नेपाल सम्वत् ११४६
(मिलन भट्टराई)
उपसचिव/सहायक प्रवक्ता