जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको शुभकामना सन्देश।
शुभकामना
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु। आजभन्दा दुई दशकअघि आजकै दिन वि.सं. २०६३ साल जेठ २१ गते तत्कालीन प्रतिनिधिसभाले नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गर्दै समानता, सम्मान र सामाजिक न्यायप्रतिको राष्ट्रिय प्रतिबद्धता जनाएको थियो। सोही दिनको स्मरण गर्दै संविधानले परिकल्पना गरेको समानतामूलक, समावेशी र न्यायपूर्ण समाज निर्माणप्रतिको हाम्रो साझा प्रतिबद्धता स्वरूप आज हामी यो दिवस मनाइरहेका छौ। यस अवसरमा मुलुकको विकासका लागि दलित समुदायले सदियौंदेखि सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा पुर्याउदै आएको उल्लेखनीय योगदानको उच्च सम्मान गर्दछु।
लोकतान्त्रिक शासन व्यवस्था र मानव अधिकारको मूल मर्म प्रत्येक नागरिकको सम्मान र मर्यादाको सुनिश्चितता हो। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक जीवनयापन गर्न पाउने मौलिक अधिकार प्रत्याभूत गर्दै मानव अधिकारका मूल्य मान्यतालाई राज्य सञ्चालनका आधारभूत सिद्धान्तका रूपमा स्थापित गरेको छ। राज्यका सबै संरचनाहरूमा सबै समुदायको समान र अर्थपूर्ण सहभागिताको सुनिश्चितता गरिएको छ।जातीय भेदभाव तथा छुवाछुतलाई कानुनबमोजिम दण्डनीय अपराधका रूपमा परिभाषित गरिएको छ। यद्यपि, जातीय भेदभाव तथा छुवाछुतको अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन यसको प्रभावकारी उन्मूलनका लागि समाजको सोच, व्यवहार र संस्कारमा सकारात्मक रूपान्तरण आवश्यक छ। समानता, सम्मान र मानवीय मर्यादाका मूल्यहरूलाई व्यवहारमा उतार्दै विभेदविरुद्ध सचेत र उत्तरदायी सामाजिक वातावरण निर्माण गर्नु हामी सबैको साझा दायित्व हो।संविधानमा निहित व्यवस्थाहरूको पूर्ण कार्यान्वयन मार्फत सामाजिक न्याय, समानता र समावेशी विकासलाई सुदृढ बनाउन नेपाल सरकार प्रतिवद्ध छ। समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछुत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गर्दै दलित समुदायको परम्परागत सीपको संरक्षण, आय आर्जन अभिवृद्धि तथा प्रविधि स्तरोन्नतिलाई सरकारले प्राथमिकतामा राखेको छ।
अन्त्यमा, जातीय भेदभाव तथा छुवाछूतमुक्त समाज निर्माणका लागि एकजुट भएर अघि बढ्न सबैमा हार्दिक अपिल गर्दछु। यस राष्ट्रिय दिवसले सामाजिक सद्भाव र पारस्परिक सम्मानको संस्कृतिलाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
धन्यवाद।
२१ जेठ, २०८३
ने.सं. ११४६ अनालागा चतुर्थी
वालेन्द्र शाह