प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
आज मिति २०८३ साल साउन २६ गते माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत H.E. Mr. Simon Ernst बीच मन्त्रालयमा शिष्टाचार भेट भयो।भेटमा नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, सामाजिक समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी) तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भयो।
माननीय मन्त्री बादीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अष्ट्रेलिया सरकारले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले विशेषगरी अपाङ्गता भएका बालबालिकाका लागि सहायक प्रविधिमा पहुँच, तथ्याङ्क तथा सूचना प्रणाली सुदृढीकरण र संस्थागत क्षमता विकासका क्षेत्रमा अष्ट्रेलियाको अनुभव तथा प्राविधिक ज्ञान उपयोगी हुने बताउनुभयो।साथै, महिलाले गर्दै आएको घरायसी तथा हेरचाहसम्बन्धी कार्यको आर्थिक गणना र मूल्याङ्कनसहित हेरचाह अर्थतन्त्रको विकासमा अष्ट्रेलियाको नीतिगत अनुभव तथा असल अभ्यासबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्नुभयो।
उक्त भेटको क्रममा अष्ट्रेलियाको महामहिम राजदूतले नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धको महत्व उल्लेख गर्दै आपसी हित र प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान सकारात्मक धारणा व्यक्त गर्नुभयो।
साउन २६, २०८३
नेपाल सम्वत् ११४६ (चक्र बहादुर बुढा)
सहसचिव/प्रवक्ता