सिता बादी वि.सं. २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमार्फत संघीय संसदमा निर्वाचित हुनु भई वि.सं. २०८२ चैत्र १३ गते नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पदमा नियुक्त हुनु भएको हो।
सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका–११, झुप्रामा जन्मनु भएकी सिता बादी विगत लामो समयदेखि सामाजिक न्याय, समावेशिता तथा सीमान्तीकृत समुदायको अधिकारका पक्षमा सक्रिय रहँदै आउनु भएको छ। अति सीमान्तीकृत बादी समुदायबाट राष्ट्रिय राजनीतिक नेतृत्वसम्मको उहाँको यात्रा संघर्ष, समर्पण र सामाजिक परिवर्तनप्रतिको दृढ प्रतिबद्धताको प्रेरणादायी उदाहरणका रूपमा स्थापित भएको छ।
उहाँले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा अन्य सीमान्तीकृत समुदायको अधिकार, सशक्तीकरण, सामाजिक सुरक्षा तथा आत्मनिर्भरताको क्षेत्रमा निरन्तर कार्य गर्दै आउनु भएको छ। वि.सं. २०७२ सालदेखि सामाजिक तथा आर्थिक रूपमा पछाडि पारिएका समुदायलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यका साथ विभिन्न सामाजिक अभियान तथा उद्यमशीलतामूलक पहलहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ।
सिता बादीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नु भएको छ। उहाँ साहित्य, इतिहास, समाजसेवा तथा खेलकुद क्षेत्रमा विशेष रुचि राख्नुहुन्छ। सामाजिक उत्तरदायित्व, मानव मर्यादा, समानता तथा समावेशी विकासप्रतिको दृढ प्रतिबद्धतासहित उहाँ सार्वजनिक सेवामा सक्रिय रहँदै आउनु भएको छ।